राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टीमा कुटपिट गरी घाइते बनाइएका एक व्यक्तिको मृत्यु भएको छ । जुक्ति यादवका ५० वर्षीय छोरा अरबिन्द यादव मंगलबार दिउँसो घरदेखि १ किलोमिटर उत्तरतर्फ धानखेतमा घाइते अवस्थामा भेटिएका थिए ।
उपचारका लागि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको थियो । उपचारकै क्रममा उनको पौने ४ बजेतिर मृत्यु भएको सप्तरीका एसपी रुपक खड्काले जानकारी दिए । उनका अनुसार यादवको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो ।
घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने के कारणले विवाद भएको हो भन्ने विषय खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि थप कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।
स्थानीयका अनुसार यादव खेतमा काम गर्न पुगेका थिए । छिमेकी खेतवालासँग त्यहीँ विवाद भएपछि अरू गाउँलेलाई बोलाएर यादवमाथि निर्घात कुटपिट गरिएको थियो । यादव खेतमै लडेपछि उनीहरू फरार भएका थिए ।





