कोशी ब्यारेजमा बढ्यो पानीको बहाव, ४३ ढोका खोलिए

राजविराज । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खुला गरिएको छ। शनिबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ । नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनका लागि सुरक्षा कर्मीले माइकिङ्ग गरिरहेको सप्तरीका एसपी रुपक खड्काले जानकारी दिए । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्क रहनका लागि आग्रह गरिएको उनले बताए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !