सप्तरीमा बाढीले डुबे ५०० घर

तीन दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा रहेका बस्ती डुबानमा परेका छन् । सप्तरीमा पाँच सय घर डुबानमा परेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका हुन् । शुक्रबार कोशीनदीमा आएको बाढीले घर तथा बस्तीमा ठुलो क्षति पुर्‍याएको हनुमाननगर कंकालिनी नगरपालिका–६ की कुमारी सदाले बताइन् । ‘घरनजिकैको बारीबाट पसेको बाढीले राति नै घरभित्रै चार फिटसम्म पानी जम्दा  परिवार विचल्लीमा परेको छ । ज्यान जोगाउन साना बालबच्चा च्यापेर राति नै कोशीको बाँधको सडकमा आइपुग्यौँ । त्रिपाल टाँगेर दिन बिताइरहेकी छु ।’

हनुमाननगर कंकालिनी–७ का सिबू सदाको परिवार अहिले कोशीनदीको बाँध किनारमा त्रिपाल टाँगेर खुला आकाशमुनि दिन बिताउन बाध्य छ । शुक्रबार राति अचानक आएको कोशीको बाढी घरमा पस्दा घरभित्रका खाद्यान्नलगायत सम्पूर्ण सामग्री जोगाउन नसकिएको उनले बताए । ‘प्रत्येक वर्ष यस्तै समस्या छ, हामी कहाँ जाऔँ, एक धुर जग्गा छैन, सुकुमवासी छौँ । प्रत्येक वर्ष बाढी आउँछ र घरमा पस्छ,’ उनले भने, ‘बाढीको पानी घटेपछि फेरि त्यहीँ गएर आफ्नो जिन्दगी काट्ने हो ।’

कोशी पश्चिमी तटबन्धभित्रका बस्तीमा शुक्रबार साँझदेखि पसेको बाढीले चार सयभन्दा बढी घर डुबानमा परेको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिए । कोशीमा शुक्रबारदेखि पानीको बहाव तीव्र रूपमा बढिरहेको छ । नगरपालिका वडा नम्बर  ५, ७, १२ र १३ का गरी चार सय घर डुबानमा परेको उनले बताए । ‘बस्तीमा चारदेखि पाँच फिटसम्म पानी जमेका कारण घरमा बस्न सक्ने अवस्था छैन,’ उनले भने ।

तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशीनदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये चारजना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विपत् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार घरमा पानी पसेपछि सुत्केरी महिलासहित प्रभावित परिवारलाई सुरक्षित स्थानका राखिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !