ठेक्का म्याद सकिन तीन महिना बाँकी, मधेश कृषि विश्वविद्यालय भवनको काम ४५ प्रतिशत मात्रै

राजविराज — मधेश प्रदेश सरकारको गौरव आयोजनाका रूपमा राजविराजमा स्थापना भएको मधेश कृषि विश्वविद्यालयको भवन निर्माणको समयसीमा सकिन लाग्दासम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

मधेश सरकारका प्रथम मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको तत्कालीन सरकारले स्थापना गरेको यो विश्वविद्यालयका लागि राजविराज नगरपालिकाले वडा १३ स्थित विषहरियामा २६ बिघा ८ कठ्ठा १८ धुर जग्गा उपलब्ध गराएको थियो। विषहरियास्थित भवन निर्माणस्थललाई ‘कृषि नगर’ नामकरण गरी विभिन्न संरचना निर्माणका लागि १ अर्ब ७० लाख रुपैयाँमा ओम साईराम कन्स्ट्रक्सनले ठेक्का पाएको हो।

ठेक्काअन्तर्गत कुलपति, सहकुलपति, उपकुलपति र रजिस्ट्रारका कार्यकक्षसहितको मुख्य प्रशासनिक भवन, सुविधासम्पन्न कक्षाकोठा भवन, प्रयोगशाला र छात्रावासलगायतका संरचना निर्माण भइरहेका छन्। तर, विगतमा प्रदेशमा देखिएको राजनीतिक खिचातानी, पटक–पटकको सरकार तथा मन्त्री परिवर्तन र विश्वविद्यालयप्रति पर्याप्त ध्यान नपुग्दा निर्माण कार्यले गति लिन सकेन। बजेट विनियोजनमा समेत उदासीनता देखिँदा भवन निर्माणको काम लक्ष्यअनुसार अघि बढ्न नसकेको हो।

७ माघ २०८० मा सम्झौता भएको उक्त ठेक्काको अन्तिम म्याद ७ माघ २०८३ सम्म छ। तर, ठेक्काको म्याद सकिन तीन महिना मात्रै बाँकी रहँदा भौतिक तथा आर्थिक प्रगति सुस्त छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !