अभिभावकविहीन बनेका सप्तरीका दुई बालबालिकाको जिम्मा मधेशी एकता समाजले लियो

श्रीमतीको उपचारका क्रममा लागेको ऋण तिर्न रसुवास्थित जलविद्युत् आयोजनामा मजदुरी गर्न गएका सप्तरीको राजविराज नगरपालिका– १६, बोरियाका ४५ वर्षीय बेचन सदा भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका छन्।

परिवारको गर्जो टार्न तथा क्यान्सरपीडित श्रीमतीको उपचारमा लागेको ऋण तिर्न उनी त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा डन्डी बाँध्ने (बार बाइन्डर) मजदुरका रूपमा काम गर्दै आएका थिए।

क्यान्सरबाट पीडित उनकी श्रीमती फुलियादेवी सदाको गत कात्तिकमा उपचारकै क्रममा निधन भएको थियो। आमाको निधन भएको एक वर्ष नपुग्दै बुबासमेत बेपत्ता भएपछि १६ वर्षीय छोरा सोभाशकुमार सदा र १० वर्षीया छोरी निभाकुमारी सदा अभिभावकविहीन बनेका छन्।

बेचन सदा बेपत्ता भएको र उनका बालबालिकाको बिचल्ली भएको खबर पाएपछि मधेशी एकता समाज, नेपालले दुवै बालबालिकाको पालनपोषण, शिक्षा र आवासको जिम्मेवारी लिने भएको छ।

मधेशी एकता समाज, नेपालकी अध्यक्ष डा. बबी सिंहले शुक्रबार सदाको घरमै पुगेर बालबालिकाको खाने, बस्ने र पढाइको जिम्मेवारी लिने घोषणा गरेकी हुन्।

सरकारी तहबाट तत्काल ठोस पहल हुन नसकेको महसुस भएपछि मानवीयताको नाताले आफूले अभिभावकविहीन बालबालिकाको जिम्मेवारी लिने निर्णय गरेको सिंहले बताइन्।

‘अभिभावकविहीन बनेका यी कलिला बालबालिकाको उज्ज्वल भविष्यका लागि यो जिम्मेवारी उठाएकी हुँ,’ उनले भनिन्।

सिंहका अनुसार दाजु–बहिनीलाई बोदेबरसाइन नगरपालिका– ५, बोदेबरसाइन बजारस्थित आफ्नै घरमा राखिनेछ। उनीहरूलाई त्यहीँको चन्द्रा नमुना माध्यमिक विद्यालयमा भर्ना गरी अध्ययनको व्यवस्था मिलाइनेछ।

बालबालिकालाई शुक्रबार नै आफ्नो घर लैजाने तयारी भए पनि आमाको बरखी (किरिया) आइतबार परेकाले उनीहरू सोमबार मात्रै जाने भएका छन्।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !