केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा

बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।

फोन तथा भिडियो कलमार्फत सेवाग्राहीलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाई ओटीपी र बैंकिङ विवरण चोरेर खाताबाट रकम स्थानान्तरण गरेको आरोपमा प्रहरीले उनीहरूलाई गत शुक्रबार पक्राउ गरेको थियो। उनीहरूविरुद्ध मंगलबार ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका–३ स्थित पोखरिया टोलमा डेरा गरी बस्ने भारतको बिहार राज्य, सीतामढी जिल्लाको बैरगनियाका २४ वर्षीय मोहम्मद साहिल र २२ वर्षीया सलोनी कुमारी सोनी तथा गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त गौतमले जानकारी दिए।

‘उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनलाइन ठगीमा अरू धेरै मानिस संलग्न हुन सक्छन्। हामीले खोजी गरिरहेका छौं।’

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १ लाख ६२ हजार २१० रुपैयाँ र ३ हजार २३६ भारतीय रुपैयाँ बरामद भएको छ। प्रहरीले सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० थान डिपोजिट भौचर, तीन थान एटीएम कार्ड र दुई थान चेक बरामद गरेको जनाएको छ।

त्यस्तै, प्रभु बैंकको १६ हजार रुपैयाँ उल्लेख भएको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक, चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड र बैंकिङ विवरण लेखिएका पर्चालगायत सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न बहानामा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। पछिल्लो समय डिजिटल बैंकिङ सेवाको बढ्दो प्रयोगसँगै सर्वसाधारणलाई प्रलोभन र डर देखाएर ठगी गर्ने गिरोह सक्रिय हुन थालेको डीएसपी गौतमले बताए।

पक्राउ परेकाहरूले सेवाग्राहीलाई फोन तथा भिडियो कल गरी आफूहरू सम्बन्धित बैंक वा इसेवाका आधिकारिक कर्मचारी भएको विश्वास दिलाउँथे। त्यसपछि केवाईसी अपडेट गर्ने वा खाता रोक्का फुकुवा गर्ने बहानामा सेवाग्राहीलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउँथे।

स्क्रिन सेयर भएको मौका छोपेर उनीहरूले मोबाइलमा आउने ओटीपी र अन्य संवेदनशील बैंकिङ विवरण चोर्थे। यसरी अनधिकृत रूपमा प्राप्त विवरण प्रयोग गरी पीडितको बैंक तथा वालेट खाताबाट रकम अन्यत्र स्थानान्तरण गरेर उनीहरूले ठगी गर्दै आएको प्रहरीले जनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !