सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाले स्थायी लेखा (प्यान) नम्बर वितरण सेवा सुरु गरेको छ। यससँगै स्थानीय बासिन्दाले अब प्यान नम्बर बनाउन राजविराज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
यसअघि करदाता सेवा कार्यालयमार्फत मात्र उपलब्ध हुने प्यान सेवा गाउँपालिकाबाटै प्रदान गर्न थालिएको हो। प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवका अनुसार गाउँपालिकाले करदाता दर्ता तथा सम्बन्धित प्रशासनिक सेवा सहज बनाउन यो पहल गरेको हो।
उनले व्यवसाय, कम्पनी, फर्म तथा व्यक्तिगत आम्दानीको अभिलेख व्यवस्थित राख्न र नागरिकलाई करको दायरामा ल्याउने सरकारी उद्देश्यलाई टेवा पुर्याउन प्यान नम्बर वितरण सुरु गरिएको बताए।
स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि सेवाग्राहीलाई समय र खर्च दुवैमा राहत पुग्ने अपेक्षा गरिएको छ।