सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको राजीनामा स्वीकृत गर्ने गाउँकार्यपालिकाको निर्णयलाई उच्च अदालतले बदर गरिदिएको छ ।
अध्यक्ष चौधरीले आफूले दिँदै नदिएको राजीनामा स्वीकृत गरेर अन्याय गरेको भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा गत २६ कात्तिकमा रिट दायर गर्दै परमादेशयुक्त उत्प्रेषणसमेतको माग गरेका थिए ।
बुधबार सुशील कोइराला र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले अध्यक्ष चौधरीको मागबमोजिम फैसला भएको अदालतका रजिस्ट्रार लोकनाथ पराजुलीले बताए ।
उनले भने, ‘सनाखाथ नदेखिएको कारणले अदालतले गाउँकार्यपालिकाको निर्णयलाई बदर गरिएको हो ।’ ५ असोजमा अध्यक्ष चौधरीले राजीनामा दिएको भन्दै १८ कात्तिकमा बसेको गाउँकार्यपालिकाको बैठकबाट राजीनामा स्वीकृत गरिएको थियो । बैठककै निर्णयअनुसार गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी कार्यवाहक अध्यक्ष बनेकी थिइन् ।