राजविराज । राजविराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन राजविराज नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकामा गत सोमबार बसेको कार्यपालिकाको निर्णयअनुसार अतिक्रमण खाली गर्न ७ दिने सूचना जारी गरेको हो । ‘
जगदीश झाको छोरा उज्जवल झालगायतका व्यक्तिहरुले अतिक्रमण गरी बसिरहेको जग्गा खाली गर्न कालेनिकाबाट २८ वैशाखमा चंनं ४२० को पत्रले ताकेता भई आएबमोजिम नगर कार्यपालिकाको बैठकबाट सर्वसम्मति निर्णय भएको’, बुधबार जारी गरेको सूचनामा उल्लेख छ । उक्त समयभित्र जग्गा खाली नगरेको पाइएमा नगरपालिकाले खाली गराउँदा हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति हुने भनी जनाइएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नं. ६ (साबिक वडा नं. ७) स्थित कित्ता नम्बर ९० को ६ कट्ठा ६ धुर जग्गामध्ये दुई कट्ठा १४ धुर जग्गामा अतिक्रमण भएको छ। सो जग्गामा नगरपालिकाले ०५४ सालमै जगदीश झा नामक व्यक्तिको नाममा घर नक्सा पास गरिदिएको पाइएको छ।
मालपोत र नापी कार्यालयको स्रेस्ताअनुसार उक्त जग्गा पूर्ण रूपमा कोलेनिकाको स्वामित्वमा रहेको भए तापनि नगरपालिकाले २०५४/११/११ को निर्णय (च.नं. १४९३) मार्फत प्लट नं. १५ उल्लेख गरी घर नक्सा पास गरिदिएको खुलेको हो।
सरकारी जग्गामा निजी संरचना बनेपछि यसअघि नै तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोग र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट समेत पत्राचार भई अनुसन्धान सुरु भएको थियो।
गत २२ मंसिर ०८२ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सरोकारवाला पक्षको बैठकले अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि कोलेनिकाले राजविराज नगरपालिकालाई पत्र लेख्दै घर–टहरा हटाइदिन आग्रह गरेको थियो।