नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विभिन्न मुद्दामा पञ्चायतीको नाममा प्रहरी कार्यालयमा हुँदै आएको भेला रोक्न माहतहका प्रहरी कार्यालयहरूलाई निर्देशन दिएका छन्। महानिरीक्षक कार्कीले मुद्दामा पक्ष र विपक्षबाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाउन देशभरका सबै प्रहरी कार्यालयलाई निर्देशन दिएका हुन्।
बुधबार जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा पीडित भएर आउनेको संख्या कम हुने गरी समाज निर्माण गर्न आग्रह गरे। प्रहरीले मात्र एक्लै समृद्ध समाज निर्माण गर्न नसक्ने भएकाले समाजमा रहेका सबैले प्रहरीलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय मादकपदार्थ र लागुपदार्थ सेवन गरेर घरेलु हिंसासहितका मुद्दा बढेकाले यसलाई रोक्न गरी प्रहरीले काम गरिरहेको कार्कीले जानकारी दिए। उनले सहायक र चोरबाटो हुँदै तस्करी र राजस्व छली गर्नेलाई रोकेर भन्सारको मुख्य सडकबाट प्रवेश गराउने र राजस्व बढाउने गरी काम गर्न निर्देशन दिए।
बेलायत सरकारको दुई करोड ४८ लाख आर्थिक सहयोगमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र पर्साको सुविधा सम्पन्न भवन निर्माण भएको पर्सा प्रहरीले जनाएको छ। संयुक्त राष्ट्रसंघ परियोजना सेवा कार्यालयअन्तर्गत नेपाल प्रहरीमा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र पर्साको सुविधा सम्पन्न भवन निर्माण भएको छ।