मधेसमा विद्युत आपूर्ति सहज बनाउन माग गर्दै जन अधिकार पार्टीले बुझायो ध्यानाकर्षण पत्र

राजविराज । तराई–मधेस क्षेत्रमा अत्यधिक गर्मीका बीच विद्युत आपूर्ति अस्तव्यस्त बनेको भन्दै जन अधिकार पार्टीले नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष डा. शरद सिंह यादवसहितको टोलीले बिहीबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर महाप्रबन्धकलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पार्टीद्वारा बुझाइएको पत्रमा तराई–मधेसका जिल्लाहरूमा हाल तापक्रम ४२ डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको अवस्थामा पनि विद्युत आपूर्तिको अवस्था कहालीलाग्दो र निराशाजनक रहेको उल्लेख छ । प्रचण्ड गर्मीका बेला अनियमित कटौती र न्यून भोल्टेजका कारण वृद्धवृद्धा, बालबालिका तथा बिरामीहरूको जनजीवन थप कष्टकर बनेको पार्टीको ठहर छ ।

एकतर्फ सरकारले नागरिकलाई विद्युतको खपत बढाउन प्रोत्साहन गरिरहेको र अर्कोतर्फ तराई–मधेसमा न्यूनतम आपूर्ति समेत सहज हुन नसक्नु दुःखद भएको पत्रमा जनाइएको छ । समस्या समाधानमा प्राधिकरणका स्थानीय कर्मचारीहरूबाट आवश्यक सहयोग र तत्परता नदेखिएको गुनासो समेत गरिएको छ ।

विद्युत अभावका कारण मधेसको जनजीवन प्रभावित हुनुका साथै नागरिकको जनधनकै व्यापक क्षति भइरहेकाले यस परिस्थितिलाई ‘विपद’ (Disaster) को रूपमा हेर्न जन अधिकार पार्टीले माग गरेको छ । साथै, अनियमित विद्युत आपूर्तिका कारण नागरिकले ब्यहोर्नुपरेको क्षतिको उचित मूल्याङ्कन गरी सम्बन्धित निकायबाट तत्काल क्षतिपूर्तिको व्यवस्थापन गर्न समेत जोडदार माग गरिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !