सप्तरीको बभनगामामा आगलागी : २० घर नष्ट, ५० लाखबराबरको क्षति

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ६, बभनगामामा शनिबार राति आगलागी हुँदा २० वटा घर जलेर नष्ट भएका छन् ।

रामअवतार यादवको घरनजिक विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । गाउँका अधिकांश स्थानीय विवाह भोजमा गएको समयमा आगलागी भएकाले आगो तीव्र रूपमा फैलिएको थियो ।

आगलागीबाट करिब ५० लाख रुपैयाँबराबरको धनमाल क्षति भएको स्थानीय बैदनाथ यादवले बताए । उनका अनुसार जोगिन्द्र यादव, जुगाई यादव, गिरिजा यादव, पिंकी कुमारी, राजेन्द्र यादव, धिरेन यादव, राजकुमार यादवलगायत १० परिवारका घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

वारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !