सप्तरीमा जंगली हात्तीको आतंक : एक जनाको ज्यान गयो, दुई घाइते

राजविराज । सप्तरीमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने दुई युवक घाइते भएका छन् । रुपनी गाउँपालिका ६, मिलनचौकका ५३ वर्षीय सुव बहादुर श्रेष्ठको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

मध्यरातमा हात्ती आएको थाहा पाएर घरछेउ आगो बालेर बसेका श्रेष्ठलाई ठूलो हुलमा रहेका हात्तीले एक्कासी आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको उनका छोरा अर्जुन श्रेष्ठले बताए ।

‘हात्ती आएको हो–हल्ला भएपछि हामी पनि घरनजिक आगो बालेर बस्यौँ, एउटा हात्ती आएर बुवालाई सुँडले समातेर उचालेर पछार्यो, बुवाको त्यतिखेरै मृत्यु भयो,’ उनले भने, ‘उहाँसँगै म पनि थिएँ तर म भाग्न सफल भएँ, यो हात्तीको आतंक कहिले सकिन्छ ?’

यसैगरी मंगलवार बिहानै दुई जना युवक पनि हात्तीकाे आक्रमणमा परेका हुन् । अग्निसाइर कृष्णासवरन–२, गुम्बा टोलमा बिहानै खेतमा धान खाइरहेको हात्ती धपाउन पुगेका ३५ वर्षीय गजेन्द्र साह र गाउँमा पसेका हात्ती धपाउन पुगेका रुपनी–६, का ४७ वर्षीय शिवशंकर यादव आक्रमणमा परेका हुन् ।

अग्निसाइर कृष्णासवरन–२ का वडाध्यक्ष पशुपतिप्रसाद चौधरीका अनुसार हात्तीको आक्रमणमा परेर अचेत भई खेतमै लडेका साहको हात भाँचिनुका साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ, उनलाई स्थानीयले उद्धार गरी सुरुमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल पठाइएको बताए । आक्रमण परेका रुपनी–६, का यादवको घुँडा र हातमा चोट लागेको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले डिभिजन वन कार्यालयसँग समन्वय गरेर हात्तीलाई कोशी टप्पु वन्यजन्तु आरक्षतर्फ लखेट्ने कार्यमा प्रशासन लागिरहेको र त्यसका लागि आवश्यक प्रयास भइरहेको बताए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !