मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सर्वदलीय सरकार बनाउने बताएका छन् ।

मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए । ‘मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउँछु,’ मुख्यमन्त्री यादवले भने, ‘मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छ भने मलाई विश्वास छ ।’

मन्त्रीपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने उनको भनाइ छ । आफूले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने प्रयास रहने बताए ।

सरकारको ध्यान अब सुस्त गतिमा रहेका कामलाई तीव्रता दिनेतिर हुने, भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।

निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे । यसअघि प्रदेश प्रमुख कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !