मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त नगरी प्रदेश सभाका करिब दुई तिहाइ सांसदको भावना विपरीत उपधारा ३ अन्तर्गत मुख्यमन्त्री नियुक्त गरेको भन्दै सोनलले आपत्ति जनाए ।
‘उहाँले दुई वटा कुराको गरिमा गिराउनु भयो । एउटा महिला र अर्को बिरामीको गरिमा गिराएर काम गर्नुभएको छ,’ सोनलले भने, ‘उहाँले आफू बिरामी रहेको र उपचारका लागि काठमाडौँ जान्छु भन्नुभयो । मलाई दया लाग्यो । एक त महिला, त्यसमाथि पनि बिरामी । चार बजे म उहाँको बेडरुममा गएर फूलसहित बिदा गरी स्वास्थ्य लाभको कामना गरेँ ।’
जानेवेलामा प्रदेश प्रमुखले आफूलाई तपाईं नै मुख्यमन्त्री हुनुहुन्छ, फर्किएर आएपछि अर्को व्यवस्थामा अघि बढ्छौँ भनेर आश्वस्त पारेको पनि सोनलले प्रस्ट पारे ।
‘आइतबारमात्र हामीले दुई तिहाइभन्दा बढी, ७४/७५ सांसदको समर्थन लिएर उहाँसँग भेट गरेका थियौँ,’ रातोपाटीसँग कुरा गर्दै सोनलले भने, ‘भेटमा उहाँले म यसलाई कदर गर्छु भन्नुभएको थियो ।’
सोनलले प्रदेश प्रमुखबाट संविधान, संघीयतामाथि समेत आँच आउने काम भएको आरोप लगाए । ‘उहाँले बिरामी छु नभनेर अहिले जे गर्नुभएको छ, त्यही गर्छु भनेर हिजो हामीसँग भन्नुभएको भए उहाँलाई मधेस भवनमै जनताले घेरेर राख्ने थिए,’ उनले भने ।
आफूले प्रदेश प्रमुख एक महिला र त्यसमा पनि बिरामी भएका कारण मानवता देखाएको सोनलको भनाइ थियो । आफूले प्रदेश प्रमुखमाथि लगातार विश्वास गर्दा पनि आफूसहित प्रदेश सभाका करिब दुई तिहाइ सांसदमााथि धोका दिइएको उनको आरोप छ । सोनलले प्रदेश प्रमुख भण्डारी ‘आमाभित्रको पुतना’ बनेर निस्किएको बताए ।
उनले प्रश्न गरे, ‘उहाँलाई उपधारा ३ अन्तर्गत नै मुख्यमन्त्री नियुक्ति गर्न मन थियो भने उहाँले हिजो नै हामीलाई हिम्मत जुटाएर भन्न सक्नुपर्दथ्यो । कुनै रेस्टुरेन्ट, होटलमा गएर मुख्यमन्त्रीको शपथ गराउने ?’
पछिल्लो घटनाक्रमबारे आफूहरू छलफलमा रहेको सोनलले बताए । उनले भने, ‘हामी कानुनी उपचारमा जान्छौँ । जनताको बिचमा जान्छौँ । यस्तो प्रदेश प्रमुख राख्ने कि नराख्ने ? गम्भीर प्रश्न उब्जिएको छ । मजस्तो मान्छेसँग झुट बोल्ने ?’