राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।
रास्वपाका प्रवक्ता मनीष झाले होटेलमा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएर प्रदेश प्रमुखले संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरेको आरोप लगाएका छन् ।
कांग्रेससहित सात दलको आग्रहविपरीत प्रदेश प्रमुखले ठुलो दलको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनको त्यो कदमको चर्को विरोध भइरहेको छ ।
त्यसबारे रास्वपा प्रवक्ता झाले भने, ‘स्वास्थ्य समस्या छ, उपचारका लागि काठमाडौं जाँदै छु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली-महोत्तरीको सिमानाको एक होटेलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन् ।’
उनले प्रदेश प्रमुखको यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन नसक्ने भन्दै विरोध जनाएका छन् ।