सिके राउत र जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम

जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई पत्राचार गर्दै २४ घण्टा भित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले मुलुकभर व्यापक राजनीतिक हलचल ल्याएसँगै पार्टीले पनि आत्मसमिक्षा गर्दै नयाँ नेतृत्वको आवश्यकता रहेको भन्दै २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन अल्टिमेटम दिइएको हो।

पार्टीभित्र नेतृत्वको कार्यशैली प्रति असन्तुष्ट समूहले पार्टी विचार, उद्देश्य र कार्यकर्ताको मर्म अनुसार अगाडि बढ्न असफल भएको निष्कर्ष निकाल्दै नेतृत्व परिवर्तनको माग गरेका छन्।

नेतृत्व परिवर्तनको माग गर्ने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सि.के. सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बम रहेका छन्।

यी नेताहरूले अध्यक्ष सीके राउतलाई राजीनामा दिएर पार्टीलाई थप लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

जनमत पार्टी नेतृत्वको भविष्यबारे भने पार्टीभित्र अझै थप राजनीतिक रस्साकस्सी हुने अनुमान गरिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !