पाँच महिनादेखि ठप्प एचडीयु संचालन गर्न सक्रिय अस्पताल प्रशासन

राजविराज। पछिल्लो समय समस्याले ग्रस्त बनेको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सुधारतर्फ उन्मुख देखिएको छ । पाँच महिनादेखि ठप्प एचडीयु सेवा संचालन गर्न अस्पताल प्रशासन सक्रिय भएको हो।‌

गत फागुन महिनादेखि एचडीयु सेवा ठप्प रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश प्रसाद साहले जानकारी दिए। उनका अनुसार एचडीयु सेवा सञ्चालन गर्न आवश्यक पर्ने नर्सिङ स्टाफ र मेडिकल अधिकृतको कमी भएपछि सेवा ठप्प भएको थियो।‌तर पुनः एचडीयु संचालनको लागि नर्सिङ स्टाफ भर्ना थालिएको उनले बताए।
‘कोही कर्मचारीहरू सरुवा भएर गइसकेपछि र करारमा रहेका केहीले जागिर छाडेपछि सेवा सञ्चालन ठप्प गर्नुपरेको थियो तर हामीले पुनः भर्ना प्रक्रिया सुरु गरेका छौँ,’ मेसु साहले भने।‌

गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई एचडीयु सेवा अत्यावश्यक हुने भए पनि विकल्प नभएपछि निजी अस्पताल वा अन्य सहरको अस्पताल धाउनु परेको छ। अस्पताल प्रशासनले समस्या समाधान गर्न पहल थालेको छ। ‘१७ जना नर्सिङ स्टाफको लागि भर्ना प्रक्रिया अगाडि बढाएका छौँ। सक्दो चाँडो एचडीयु पुनः सञ्चालन गर्ने तयारीमा छौँ,’ मेसु साहले भने।

इ-हाजिरी प्रक्रियालाई थप व्यवस्थित पार्दै

अस्पतालमा एचडीयु मात्र होइन, अन्य सेवा प्रवाह पनि प्रभावकारी नरहेको गुनासो सेवाग्राहीको छ। नियमित रूपमा उपचारका लागि आउने बिरामीहरू चिकित्सक समयमै नआउने, सेवा ढिला हुने, औषधि अभावजस्ता समस्या झेलिरहेका छन्।

यी गुनासोलाई गम्भीरतापूर्वक लिँदै अस्पताल प्रशासनले चिकित्सकको समय व्यवस्थापन सुधार गर्न हाजिरी प्रणाली कडाइका साथ लागू गर्न थालेको छ। मेसु साहले भने, ‘अब सबै चिकित्सकले निश्चित समयमै सेवामा बस्नैपर्छ। हाजिरी अनिवार्य गरिएको छ र निगरानी पनि जारी छ।’

अधुरो भवन

अस्पतालमा संरचनागत समस्या पनि उत्तिकै देखिएको छ। अहिले केही भवनहरू निर्माणाधीन अवस्थामा छन्। ती निर्माण सम्पन्न भएमा अस्पतालको सेवा क्षेत्र विस्तार हुने आशा गरिएको छ। मेसु डा. साहले भने, ‘भवन निर्माणमा ढिलाइ भएको छ। तर हामी सम्बन्धित संघीय कार्यालयसँग पटक–पटक छलफलमा छौँ। निर्माण सकिएपछि थप सेवा सहज रुपमै दिइनेछ।’

अस्पताल प्रशासनले भने सेवामा सुधार ल्याउन विभिन्न पक्षसँग समन्वय गर्दै प्राविधिक तथा व्यवस्थापकीय पक्ष सुधारमा ध्यान केन्द्रित गरिरहेको जनाएको छ। एचडीयु पुनः सञ्चालन, सेवा विस्तार, चिकित्सक व्यवस्थापन, संरचना निर्माण, उपकरण खरिद लगायतका विषयमा अगाडि बढिरहेको र छिट्टै सकारात्मक परिणाम देखिने अस्पताल प्रशासनको दावी छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !