राजविराज। परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन्। क्याम्पसकै स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा जारी आन्दोलनले मंगलबार झनै तीव्र रूप लिएको छ।
शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाइरहेका थिए। तर त्यसको केही समय नबित्दै एलएलबी र व्यवस्थापन संकायको समेत परीक्षा केन्द्र लहान सारिएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन्। त्यसको विरोधस्वरूप मंगलबार बिहान विद्यार्थीहरूले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन गरेका छन्। सप्तरी र सिरहाको मात्र परिक्षा केन्द्र सार्नुमा त्रिवि कार्यालयको बदनियत रहेको स्वतन्त्र विद्यार्थी युनियन मविव क्यामपस राजविराजका सभापति रंजित यादव बताउँछन्।
स्ववियु सभापति रञ्जित यादवले भने, ‘राजविराजमा भवन र पूर्वाधार प्रशस्त छन्, त्यत्तिका सुविधासहितको क्याम्पस हुँदाहुँदै परिक्षा केन्द्र सार्नु हाम्रो लागि अपमानजस्तै हो। त्यसमा पनि सप्तरी र सिरहाको मात्रै परिक्षा केन्द्र सारिएको छ। त्रिवि आंगिक क्याम्पसको सेन्टर निजी क्याम्पसमा दिनु गलत हो।’ ‘यो निर्णय बदनियतपूर्ण र यहाँका विद्यार्थीमाथिको अन्यायपूर्ण व्यवहार हो। यदि त्रिविले तुरुन्त निर्णय फिर्ता लिँदैन भने हामी अझ कडा आन्दोलनमा जान बाध्य हुनेछौं।’
विद्यार्थीहरूले चर्को नाराबाजी गर्दै त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायहरूसँग तत्काल निर्णय फिर्ता लिन माग गरेको छ।
क्यामपसको परिक्षा केन्द्र पुनः क्याम्पसमै कायम नगरे आन्दोलन कायमै राख्ने र समाधान नखोजिए थप कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थीहरूले दिएका छन्।