सप्तरी प्रहरीले गत १९ फागुनमा बरामद गरेको २४ क्विन्टल १९.५ किलो गाँजा शुक्रबार जलाएर नष्ट गरेको छ। राजविराज नगरपालिका– ९ स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरमा रहेको गोदामबाट उक्त गाँजा बरामद भएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज नगरपालिका– १३ देउरीभरुवास्थित खाँडो खोलामा सरोकारवालाको रोहवरमा उक्त गाँजा नष्ट गरेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
गाँजालाई पुरेर नष्ट गर्दा निकालेर लैजाने सम्भावना भएकाले जलाएर नष्ट गरिएको उनले बताए। गाँजा बरामद गरिएको घटनामा थप अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘नियन्त्रणमा लिइएका व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान भइरहेको छ।’