बन्द भयो मधेश कृषि विश्वविद्यालय, एक सय विद्यार्थीको भविष्य अन्योलमा

पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै उपप्राध्यापक र कर्मचारीहरूले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। तालाबन्दी भएसँगै चारवर्षे कृषि स्नातकमा अध्ययनरत एक सयजना विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

राजविराजमा रहेको विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर बिहीबार बिहान तालाबन्दी गरेका हुन् । उपकुलपति, रजिस्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको मूलगेट तथा शैक्षिक भवनमा तालाबन्दी गरिएको हो ।

विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरूले क्षतिपूर्तिसहित नियमावलीअनुसारको तलबभत्ता तथा अन्य सुविधा पाउनुपर्ने माग राखेका छन् । गत भदौदेखि हालसम्मको तलबभत्ता नपाएको गुनासो उनीहरूको छ । विश्वविद्यालयका सहकुलपति एवं प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलाई पटक–पटक ज्ञापनपत्र दिँदा पनि सुनुवाइ नभएकाले तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ। ‘चरम आर्थिक संकटमा परेपछि हामीसँग अब अर्को विकल्प रहेन,’ उपप्राध्यापक यादवले भने, ‘सामान्य रूपमा गर्नुपर्ने आग्रह र अनुरोध सबैतिर गर्‍याैँ,  कतैबाट सुनुवाइ नभएपछि बाध्य हुनुपर्‍यो ।’

विश्वविद्यालयको सभाबाट नीति तथा कार्यक्रम पास हुन नसकेको, लालबाबु राउत नेतृत्वको सरकारले नियुक्त गरेका रजिस्ट्रारबाट वर्तमान सरकारले आर्थिक कारोबार खोजेर छानबिन थालेपछि पछिल्लो समय विश्वविद्यालयको आर्थिक कारोबार बन्द छ। विश्वविद्यालयको निर्माणाधीन भवन शिलान्यासका लागि विश्वविद्यालयले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत पार्टी उपकुलपति र रजिस्ट्रारसँग असन्तुष्ट छ।

यादवले भवनको शिलान्यास गर्न लाग्दा जनमतले विरोध जनाएको थियो । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार गठन भएपछि उपकुलपति महतो र रजिस्ट्रार ठाकुरले अनियमितता गरेको भन्दै नीति आयोगका उपाध्यक्ष डा. सोहन साहको नेतृत्वमा छानबिन समितिसमेत गठन गरिएको थियो। तर, अझैसम्म प्रतिवेदन सार्वजनिक भएको छैन।

विश्वविद्यालयमा अहिले चारवर्षे कृषि स्नातकमा अध्ययनरत एक सयजना विद्यार्थी छन्। शैक्षिक सत्र ०८१/८२ मा ५० जना विद्यार्थी भर्ना आह्वान गरिएकोमा एक सय १० जनाले आवेदन दिएका थिए । तर, रकम अभावमा परीक्षा लिन नसकेपछि भर्ना प्रक्रिया नै रोकिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !