मधेस प्रदेशका पूर्वमुख्यमन्त्री मो. लालबाबु राउतले वर्तमान सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्।
मंगलबार प्रदेशसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारको नेतृत्व गर्ने दलका नेता स्टन्टबाजीमा मात्र लागेको टिप्पणी गरे। ‘स्टन्टबाजीले जनतालाई एक–दुई पटक मात्र गुमराह गर्न सकिन्छ’, उनले भने।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई इंगित गर्दै उनले भने, ‘सरकारको मुख्यमन्त्रीको मर्यादा कुनै पार्टीको अध्यक्षले निर्धारण गर्ने होइन। तपाईं कुनै बन्द कोठामा ल्याएर ऊसँग स्पष्टीकरण लिनुस्। कुरा गर्नुस्, सम्झाउनुस् बुझाउनुस्। कहीँ गल्ती भएको छ भने कुरा राख्न सकिन्छ तर पब्लिकली मुख्यमन्त्रीको गरिमालाई ठेस पुग्ने गरी स्पष्टीकरण सोधिन्छ। वाह! यो पनि फेरि दिग्भ्रमित गर्न, जनतालाई गुमराह गर्न।’
आफूले पनि विभिन्न दलसँग मिलेर पाँच वर्ष सरकार चलाएको उनले बताए। उनले भने, ‘अहिले पाँच वर्षमा पाँच जना पक्कै जान्छ होला जुन परिस्थिति देखिँदै छ। मैले चलाएको होइन र! मलाई बताउनुपर्छ र के–के राम्रो काम गरियो? के–के बजेट ल्याइयो? एउटा पनि प्रादेशिक गौरवको योजना नभएको बजेट यही होला। यसको जिम्मा कसले लिने?’
राउतले बजेटमा पनि यो सरकारले स्टन्टबाजी गरेको आरोप लगाए। उनले बजेट ह्याक गरियो भनेर छानबिन समितिसमेत गठन गरिएकोमा त्यसको छानबिनको के भयो भनेर प्रश्न गरे।