राजविराज। सप्तरीको बलानविहुल गाउँपालिकामा मोतियाबिन्दु बिरामीको नि:शुल्क शल्यक्रिया तीन दिने शिविर आयोजना गरिएको छ।
गाउँपालिकाले रामलाल गोल्छा आइ हस्पिटल विराटनगरको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म चल्ने तीन दिने शिविरको आयोजना गरेको हो।
क्योर बालन्डनेस प्रोजेक्टर्फत संचालित उक्त शिविरको व्यवस्थापन तिलगंगा इन्स्टिच्युट अफ अपथेमोलोजी काठमाडौँले गरेको आयोजकले जनाएको छ।
शिविरमा तीन सय ४० जना मोतियाबिन्दुको बिरामीको शल्यक्रिया गरिने अस्पतालका प्रबन्धक नविन राजवंशीले जानकारी दिए।
‘पालिकाका विभिन्न वडामा गएर आठ दिनसम्म नौ सय तीस जनाको जाँच गर्दा तीन सय चालिस जना मोतियाबिन्दुको बिरामी भेटाउनु भयो,’ उनले भने, ‘उहाँहरूको सुची तयार गरेर आजबाट शल्यक्रिया सुरू गरिएको छ, हाइ ब्लड प्रेसर, सुगर लगायतका समस्या नभए तीन दिनमा सबैजनाको शल्यक्रिया हुन्छ।’
शिविरमा अस्पतालको तर्फबाट १० जना र गाउँपालिकाको तर्फबाट १० जनाको टोली रहेको छ।
पालिकाका अध्यक्ष खेमचन्द्र यादवलर शिविरले यहाँका गरिब, एकल महिला तथा असहाय व्यक्तिलाई निकै लाभ भेटेको बताए।
‘एकजनाको शल्यक्रियामा सबैथोक व्यवस्थापन गर्दा १५देखि २० हजार रुपैयाँ खर्च हुन जान्छ त्यसैले पनि यहाँका धेरै गरिब जनता शल्यक्रिया गराउन सकिरहेका थिएनन्,’ उनले भने, ‘त्यस्ता बिरामीको लागि महत्वपर्ण अवसर भेटेछ, उहाँहरू नयाँ आखाँ पाउनुहुन्छ।’