नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिराहाको बरियारपट्टि गाउँपालिका– १ कचनारी नरगीमा आइतबार बिहान नेपालतर्फबाट गएको नम्बर नखुलेको चारपांग्रे गाडीको ठक्करले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) करिब ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ।
सीमावर्ती क्षेत्रमा गस्तीमा रहेका वेला आइतबार बिहान करिब ३ बजेतिर नम्बर नखुलेको चारपांग्रे गाडीको ठक्करले सइ यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए। बिहान अँध्यारो र हुस्सुको वेला सइ यादवलाई ठक्कर दिएको गाडी सीमा पार गरी भारततर्फ भागेकाले नम्बर खुल्न नसकेको उनले बताए। उनका अनुसार गाडीको ठक्करले मृत्यु भएका सइको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल ल्याइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट बडहरीमा कार्यरत सइ नियमित गस्तीको क्रममा आइतबार बिहान नेपाल प्रहरीसहित आठजनाको टोलीको कमान्ड गर्दै नरगी सीमानाका क्षेत्रमा खटिएका थिए। उत्तरतिरबाट गएको चारपांग्रे गाडीलाई रोक्न खोज्दा नरोकी ठक्कर दिएर भागेकाले खोजी भइरहेको उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई कानुनी कठघरामा ल्याइने उनको भनाइ छ।
‘भारतीय प्रहरीको समन्वयमा ठक्कर दिएर भागेको गाडीको खोजी भइरहेकाले ढिलो–चाँडो पक्रिन्छौँ,’ उनले भने । आउटपोस्टका इन्चार्ज बिदामा रहेकाले मृतक सइ यादव केही दिनदेखि निमित्त इन्चार्ज रहेको जनाइएको छ । ०५७ सालमा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका यादव सिराहाको नरहा गाउँपालिका– ४ ललभितियाका बासिन्दा हुन्। दुई छोरी र श्रीमती रहेका यादव तीन दिनअघि मात्र एक महिना बिदा बसेर ड्युटीमा फर्किएका आफन्तले बताएका छन्।
तस्करले हत्या गरेको आफन्तको आरोप
पछिल्लो बिहीबार जिल्लाको सीमावर्ती औरही गाउँपालिकाको इँटाटारबाट अवैध रूपमा मदिरा बोकेर भारत गइरहेको अवस्थामा सशस्त्र प्रहरीले पिकअप भ्यानसहित मदिरा नियन्त्रणमा लिएपछि जिल्लाका तस्करहरू अत्तालिएर उनको हत्या गरेको आफन्तले आरोप लगाएका छन्।
नेपाल पत्रकार महासंघ सिराहाका पूर्वसदस्यसमेत रहेका देवकुमार यादवले सइ लक्ष्मण यादवलाई गाडीले ढालेर १० मिनेटसम्म कच्ची सडकमा घिसारेर हत्या गरेको आरोप लगाए। हत्याको घटनालाई ठक्करबाट मृत्यु भएको भन्दै प्रहरीले घटनालाई बंग्याउन खोजेको उनको आरोप छ। उनका अनुसार मदिरा तस्करी गरी भारततिर लैजाँदै गरेको सूचना पाएपछि आधा दर्जनभन्दा बढी नेपाल प्रहरी र सशस्त्रसहित नाका क्षेत्रमा पुगेका सइले गाडी रोक्न खोज्दा किचेर घिसार्दै हत्या भएको हो।
गस्तीमा रहेका कमान्डरलाई किचेर मार्दा प्रहरीले प्रतिकार नगरिनुले गाडीमा मदिरा लोड भएको ठाउँको नामसहित गाडीधनी र सामानको विषयमा प्रहरीसँग सूचना रहेको उनको दाबी छ।
मदिरा तस्करी गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्व–पश्चिम सडकको लहानखण्ड आइतबार बिहान नौ बजेदेखि करिब अढाई घण्टा अवरुद्ध गरेका छन्। उनीहरूले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै टायर बालेर सडक अवरुद्ध गरेका हुन्।