बाख्रा चोरीको आरोप लागेका एक व्यक्तिलाई सार्वजनिक रूपमा अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोपमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–१३ का ३५ वर्षीय लड्डु राम, ४२ वर्षीय ललित राम र ३५ वर्षीय रामनाथ राम रहेका छन्। उनीहरूले सोही ठाउँका एक व्यक्तिलाई अभद्र व्यवहार तथा कुटपिट गरी जुत्ताको माला लगाएर गाउँ घुमाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमराज घिमिरेका अनुसार गत साउन ८ गते राति एक व्यक्तिले स्थानीय रामनाथ रामको बाख्रा चोरी गरेको विषयलाई लिएर दुई पक्षबिच विवाद सुरु भएको थियो। उक्त विवाद समाधानका लागि साउन ९ गते बिहान १० बजे स्थानीय भगवती मन्दिरको प्राङ्गणमा गाउँलेहरूले पञ्चायत (छलफल) डाकेका थिए।
छलफलका क्रममा कुरा नमिल्दा उत्तेजित बनेका स्थानीयको समूहले ती व्यक्तिलाई कुटपिट तथा दुर्व्यवहार गर्दै जुत्ताको माला लगाइदिएर गाउँ घुमाएका थिए। कानुन हातमा लिएर व्यक्तिमाथि अमानवीय व्यवहार गरेकाले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरिएको डिएसपी घिमिरेले जानकारी दिए।