राजविराज । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सप्तरीको सदरमुकाम राजविराजमा सद्भाव र्याली निकालिएको छ । हिन्दु–मुस्लिम समुदायबीच सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले आइतबार बिहान सद्भाव र्याली निकालिएको छ ।
स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको सद्भाव र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए । सुनसरी र सिरहा जिल्लामा हालै भएका घटनापछि सप्तरीमा विकसित परिस्थितिलाई सामान्य बनाउन र सामाजिक सद्भाव कायम राख्न र्याली निकालिएको उनले बताए ।
र्यालीमा सहभागी आम संचार प्राधिकरणका पुर्व अध्यक्ष श्याम सुन्दर यादवले सुनसरी घटनालाई बहाना बनाएर समाजमा विभाजन र द्वेष फैलाउने प्रयास हुन नदिन सबै समुदाय सचेत रहनुपर्ने बताएका छन् । उनीहरूले अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहँदै सामाजिक एकता र आपसी विश्वासलाई बलियो बनाउन उनले आग्रह गरेका छन् । मिथिलाको गौरवशाली संस्कृति र मर्यादालाई आत्मसात् गर्दै शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल समेत गरेका छन् ।