सप्तरीको शम्भुनाथ नगरपालिकाले आफ्नै कर्मचारीहरूलाई नियमित हाजिरी तथा कार्यालय समय पालनामा लापरवाही गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
लेखा अधिकृत सृष्टि राउत र आन्तरिक लेखा परीक्षक अधिकृत झनक बहादुर कटुवाललाई कार्यालयले किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले बिदा स्वीकृति नलिई वा जानकारी नगराई अनधिकृत रूपमा अनुपस्थित हुने गरेकोले स्पष्टीकरण सोधेका हुन्।
उपस्थित भएको दिनमा समेत कार्यालय समयभरि नरहने गरेको र कर्मचारी लगबुकमा समेत विवरण प्रविष्ट नगरि जाने गरेको उल्लेख छ। मधेश प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को परिच्छेद ९ को दफा ७३ र ७४ विपरीत यस्तो आचरण देखिएको भन्दै उनीहरूलाई सोही ऐनको दफा ८९, ९५, ९६ र ९९ बमोजिम किन कारबाही गर्न नपर्ने भन्नेबारे स्पष्टीकरण पेश गर्न २०८२ भदौ २४ गते बिहान ११ बजेसम्म समय दिइएको थियो ।
२४ गतेदेखि २९ गतेसम्म विदा रहेकोले ३० गते ११ बजेसम्म स्पष्टीकरण बुझाउनु पर्ने थियो। तर हालसम्म स्पष्टीकरण नबुझाएको प्रमुख प्रशासकीय अधिकृत सुतिहारले बताए।
यसअघि कार्यवाहक नगरप्रमुख अनिता चौधरीले कार्यालयको खर्च फाँटवारी माग गर्दा उनीहरुले छेडछाड गरि गलत विवरण उपलब्ध गराउँदा भदौ १८ गते स्पष्टीकरण सोधिएको थियो। तर कार्यवाहक नगरप्रमुखले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनीहरूले जवाफ नफर्काएको कार्यालय स्रोतले बताए । दुवै अधिकृतमाथि ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भएको शम्भुनाथ नगरपालिकाले जनाएको छ ।