गजेन्द्रनारायण सिंह अस्पतालमा डा. नागेन्द्र यादवको मनोमानी उपस्थिति

राजविराज। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत सर्जन डा. नागेन्द्र प्रसाद यादव अस्पतालमा मनोमानी ढङ्गले नआउने गरेको आरोप लागेको छ। उनी प्रायः जसो अस्पतालमा अनुपस्थित रहने गरेका छन्। अस्पतालमा उनी एक मात्र सर्जन रहेकोले सर्जरीको समस्याको लागि पुग्ने गरेको विरामी उनी उपस्थित नहुँदा फर्किनु परेको पाइएको छ।

डा. यादव पछिल्ला दुई दिनदेखि पुनः अस्पताल नआएको स्रोतले जनाएको छ। डा यादव आज पनि अस्पताल आएका छैनन् तर उनले विदा लिएको पनि छैन।‌उनले आफ्नो अनुपस्थितिबारे कुनै जानकारी नदिएको अस्पतालका मेसु डाक्टर प्रकाश प्रसाद साहले बताए।
‘उहाँ (डा. नागेन्द्र यादव) अस्पतालमा कार्यरत हुनुहुन्छ। तर हाल उहाँले कुनै प्रकारको विदा निवेदन दिनुभएको छैन। आउनु पर्ने थियो तर नआउनु भएको कारण बुझ्ने प्रयासमा छु,’ मेसु साहले भने।

उनी अस्पतालमा कार्यरत एक मात्र सर्जन हुन्। शल्यक्रिया जस्तो संवेदनशील सेवा प्रदान गर्ने जिम्मेवारी पाएका सर्जन स्वयं नियमित रूपमा उपस्थित नहुँदा सेवाग्राही मारमा परेका छन् ‌।सेवाग्राहीहरू अन्य अस्पताल धाउनु पर्ने बाध्यतामा परेका छन्।
डा. यादव यसअघि अस्पतालका निमित्त मेसु समेत रहिसकेका थिए । उनी अहिले पनि पुनः मेसु बन्ने दौडधूपमा रहेको चर्चा छ।
यसबारे बुझ्न खोज्दा डा नागेन्द्रको सम्पर्क हुनसकेन। गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत अन्य चिकित्सक समेत अस्पतालमा समयमा नआउने गरेको गुनासो व्याप्त छ। ओपीडीको निर्धारित समय भन्दा ढिलो आउने गरेको गुनासो छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !