मधेश कृषि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पठनपाठन ठप्प गर्ने चेतावनी दिएका छन् । गत भदौदेखि हालसम्मको तलब, भत्ता नपाउँदा समस्या भएको भन्दै उनीहरूले विश्वविद्यालयको पठ्नपाठन एव अनुसन्धानका कामहरू नगर्ने चेतावनी दिएका हुन् ।
विश्वविद्यालयका उप-प्राध्यापक अविनास कुमार यादवको नेतृत्वमा उप- प्राध्यापकहरुले मुख्यमन्त्री सतिश कुमार सिंह र शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलाई इमेलमार्फत तथा जिल्ला समन्वय समितिका सभापति शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला स्थित प्रमुख राजनीतिक दलका कार्यालय पुगेर ज्ञापनपत्र बुझाए छन् ।
‘यस्तो अवस्थामा पनि हामी उप– प्राध्यापक तथा कर्मचारीहरु विश्वविद्यालय प्रति जिम्मेवार भई नियमित रुपमा पठन पाठन लगायत अनुसन्धान सञ्चालन गर्दै आइएरहेका छौं । तर चरम आर्थिक संकट को कारणले गर्दा हाम्रो व्यक्तिगत तथा पारिवारिक दैनिकी प्रभावित भएको यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं।’– सप्तरीका सीडीओ भोला दाहालमार्फत वुझाईएको ज्ञापन पत्रमा भनिएको छ।
अव भने पठनपाठनसहित सम्पूर्ण कृयाकलाप ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्। ज्ञापन पत्रमा भनिएको छ–‘क्षतिपुर्तिसहित नियमावली अनुसारको तलबभता तथा अन्य सुबिधाहरु नपाउनजेल्सम्म नियमित रुपमा पठन पाठनलगायत अनुसन्धानका कामहरु ठप्प पार्ने जानकारी गराउन चाहन्छौं। उक्त विषय प्रति मिति २०८१/१०/३० गते भित्र कुनै सुनुवाई तथा सम्बोधन नभएमा मिति २०८१/११/०१ गते देखि नियमित रुपमा पठन पाठन लगायत अनुसन्धानको कामहरु ठप्प हुनेछ।’