नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकमा यादवले सरकारको नेतृत्व गरेको दलले आफूले गर्न नसक्दा अरुमाथि दोष थुपार्ने काम गरेको बताएका हुन्।
उनले भने, ‘मुख्यमन्त्री जीलाई कुन मिटिङमा कुन कामको लागि कुन प्रक्रियाको लागि गठबन्धनबाट डिस्टर्ब भएको छ? तपाईं किन अलमलिनुभएको छ? बेलुका एउटा सहमति गर्नुहुन्छ, बिहान तपाईं पल्टिनुहुन्छ? त्यो गठबन्धनको कारणले हो? अनि गाली गर्नुहुन्छ गठबन्धनलाई?’
सरकारले सरुवा बढुवाबाहेक केही काम नगरेको उनको भनाइ थियो।
उनले भने,’अहिलेसम्म एउटा कार्यक्रम पनि अगाडि बढ्न सकेको छैन। अनि भ्रष्टाचारी भन्ने? आफ्नो मुख हेर्नुस् न। काम भएको छ भने एउटै काम भएको छ, त्यो हो सरुवा बढुवा, राजनीतिक नियुक्त, पदस्थापनबाहेक केही भएको छैन।’
मन्त्रालयबाट अहिले कुनै काम अगाडि नबढेको भन्दै उनले प्रत्येक दिन सहमति मात्र हुने गरेको बताए। उनले भने, ‘तर, के गर्ने पीडा छ पिडा। म डिबेट गर्न चाहन्छु। ठीक छ, तपाईंको डा. सीके राउत क्याम्ब्रिज युनिभर्सिटीबाट पिएचडी गर्नुभएको छ। उहाँ विद्यार्थी पढाउन सक्नुहुन्छ, खोज गर्न सक्नुहुन्छ तर व्यवहारिक ज्ञानमा आफूलाई पुष्ट छु भन्न सक्नुहुन्न।’