लिभरमा छिरेको काठ राजविराजमा सफलतापुर्वक निकालियो

लिभरमा छिरेको काठ राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सफलतापुर्वक अप्रेशन गरि निकालिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत जेनरल सर्जन डा. पंकज यादवले सफलतापूर्वक उक्त अप्रेशन गरेका हुन्।

कात्तिक २२ गते भारदहमा मेसिनले काठको काम गरिरहेका बेला ४५ वर्षीय किसन शर्माको लिभरमा काठको टुक्रा उछिनेर छिरेको थियो।

भित्र फलाम छिरेको भन्दै पीडाले छटपटाइरहेका उनी डाक्टर कहाँ पुगे। भिडियो एक्सरे गरेपछि उनलाई अप्रेशन गर्न सल्लाह दिइयो।
गजेन्द्रनारायण सिंह अस्पतालमा एनेस्थेसिया चिकित्सक नरहेकोले उनको अप्रेशन छिन्नमस्ता अस्पताल गर्नुपरेको डा.पंकज यादवले बताए।

छठको दिन भएकोले सो दिन त्यहाँपनि एनेस्थेसिया डाक्टर नहुँदा त्यसको भोलिपल्ट अप्रेशन गरिएको डा. पंकजले बताए। दुई घण्टाको अप्रेशनपछि सफलतापूर्वक काठको टुक्रा निकालिएको उनले बताए।

यस्तो किसिमको समस्या कमै आउने गरेको डा. पंकज बताउँछन्। उनले आफु एक बर्षमा राजविराजमा पहिलो चोटी यस्तो समस्या हेरेको बताए।

कात्तिक २२ गते घाइते भएर आएका उनलाई उपचार पश्चात बिहिबार अस्पतालबाट डिस्चार्ज गरिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !