सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा हुन गइरहेको वडा अध्यक्षहरूकाे निर्वाचनकाे लागि जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । डाक्नेश्वरी नगरपालिकाकाे भवनमा स्थापना गरिएको कार्यालय मुख्य निर्वाचन अधिकृत न्यायाधीश दिपक दाहालले शुक्रबार आयोजित एक समारोहका वीच उद्घाटन गरेका हुन् ।
निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन मुख्य निर्वाचन अधिकृत दिपक दाहाल लगायत सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको नेतृत्वमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइराला, नेपाली सेनाका प्रमुख सेनानी, सशस्त्र प्रहरी उपरीक्षक र जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मतदान केन्द्रहरूको निरीक्षण र अनुगमन गरेका छन्।
प्रमुख जिल्ला अधिकारी दाहालले आम नागरिकलाई निर्धक्क रूपमा मतदान गर्ने वातावरण तयार गर्न शान्ति सुरक्षामा कुनै पनि कमी नहुने विश्वास दिलाएका छन्। उनले निर्वाचनलाई निष्पक्ष, भयरहित, र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिए।
मतदान केन्द्रहरूको निरीक्षणका क्रममा सुरक्षाका सबै उपायहरू लागू गरिने र कुनै पनि त्रुटी हुन नदिने प्रमुख जिल्ला अधिकारी दाहालले स्पष्ट पारे। आम जनताले निर्धक्क रूपमा आफ्ना मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चितता स्थानीय प्रशासनले गरेको उनले बताए।
निर्वाचनको सफल सञ्चालनका लागि सबै पक्षको सहकार्य र निगरानी आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी दाहालले शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।उनले आम जनतालाई पनि स्वतन्त्र र निडर रूपमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरे ।
डाक्नेश्वरी १ राप्रावि बलाटी मतदान केन्द्रमा १ हजार ७४ मतदाता संख्या रहेको छ भने १मै श्री मावि कबिलासा केन्द्र ( क) ७ सय ५६ श्री मावि कबिलासा (ख) ७ सय ९३ मतदाता सङ्ख्या रहेको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ मा राप्रावि भूतही(क)मा ६ सय ४४ राप्रावि भुतही (ख) ६ सय ७५ मतदाता संख्या रहेको छ ।