एक सातादेखि बेपत्ता महिलाको हात–खुट्टा बाँधिएको अवस्थामा शव फेला

एक सातादेखि बेपत्ता पारिएकी महिलाको हात–खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ की ३६ वर्षीया अनितादेवी रायको शव बुधबार सोही वडाको नौ किलोमिटर भन्ने स्थानमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले गत बुधबार रातिदेखि बेपत्ता महिलाको हात–खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको बताए। ‘महिलाको हात पछाडी फर्काएर तथा खुट्टा पनि बाँधिएको अवस्थामा शव फेला पारेका छौं,’ उनले भने, ‘शव पनि सडिसकेको छ। घटनाको अनुसन्धान हुँदै छ।’

अनिता १२ वर्षीया छोरीसँग आफ्नै घरमा बस्दै आएकी थिइन्। उनका श्रीमान् वीरेन्द्र वैदेशिक रोजगारीका लागि कतारमा छन्। गत बुधबार राति ११ बजेसम्म वीरेन्द्रले पनि आफ्नी श्रीमतीसँग फोनमा कुरा गरेका थिए।

त्यसपछि महिलालाई बेपत्ता पारिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। महिला बेपत्ता भएको राति आँगनमा रगत देखिएको स्थानीय बताउँछन्। उनीहरूका अनुसार गाउँलेहरु विवाहमा जन्ती गएको बेला समूहमा आएका ५–६ जनाले महिलालाई घरबाटै अपहरण गरी लगेका थिए।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !